एमाले, कांग्रेस र माओवादी मुख देखाउन लायक नभएको लिङ्देनको आरोप
काठमाडौँ/ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले एमाले, कांग्रेस र माओवादी पार्टी जनताका अगाडि मुख देखाउन लायक नभएको टिप्पणी गरेका छन् ।
बिहीबार राष्ट्रिय प्रजातन्त्र पार्टी, दोलखा जिल्ला कमिटीले काठमाडौँमा आयोजना गरेको नवनिर्वाचित अध्यक्ष लिङ्देनलाई बधाई तथा शुभकामना कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
राप्रपाले विगतमा ठिक ढङ्गले जनतालाई बुझाउन नसक्दा ती पार्टीहरू आकारको हिसाबले ठुलो भएको उनले बताए । अध्यक्ष लिङ्देनले जनताले देश र धर्मलाई शिरमा बोकेर हिँड्ने राप्रपा पार्टी नै खोजेको भन्दै पार्टी नेतृत्वले कुनै किसिमको कमी कमजोरी नगर्ने बताए ।
लिङ्देनले अहिले आफूलाई ठुला पार्टी भन्ने काँग्रेस, एमाले माओवादीहरू राजनीतिक रूपले र नैतिक रूपले जनताको बिचमा गएर मुख देखाउन लायक नभएको आरोप लगाएका छन् । उनले भने, ’हाम्रो नेतृत्वबाट कुनै पनि कमी, कमजोरीहरू हुँदैन ।
तपाईँहरूको शिर झुक्ने खालको काम हुनेछैन ।’उनले विगतमा विभिन्न कारणले राप्रपा छोडेका र अन्य पार्टीमा भएर पनि राप्रपाको विचार मन पराउनेहरूलाई राप्रपामा आउन आह्वान गरे। राप्रपामा आउने सबैलाई योग्यता, क्षमताअनुसारको उचित सम्मान र अवसर प्रदान गर्ने आश्वासन पनि उनले दिए ।














