केन्द्रीय समितिमा यी नयाँ अनुहार
12
नेपाली कांग्रेसको १४ औ महाधिवेशनमा केन्द्रीय सदस्यहरूको मत गणना सकिएका छ । ३५ जना निर्वाचित खुला सदस्यमा १६ जना नयाँ अनुहार छन् । चौथो स्थानमा रहेका उदय समसेर राणा १३ औ महाधिवेशनमा २५ निर्वाचित कोटामा २७ औ स्थानमा रहेका थिए ।
नेपाल तरुण दलका पूर्व अध्यक्ष राणा पूर्व अर्थ राज्यमन्त्री पनि हुन् । ललितपुर जिल्ला तरुण दलको अध्यक्ष हुँदै राजनीतिमा सक्रिय पाइला चालेका उनी तीन पटकको संसदीय निर्वाचनमा उम्मेदवार भई सकेका छन् ।
२०६४ को संविधान सभा सदस्यको निर्वाचनमा नेकपा ( माओवादी)का नेता वर्षमान पुनसँग झीनो मतान्तरले पराजित उनी दोस्रो संविधान सभा निर्वाचनमा विजयी भएका थिए । गत प्रतिनिधि सभा निर्वाचनमा उनी पराजित भए ।
ओखलढुङ्गाका रामहरि खतिवडा पूर्व कांग्रेस नेता बल बहादुर राईका निकट रहँदै राजनीतिमा लामो समय बिताए । राई मन्त्री भएकै समयमा खतिवडा विवादमा पनि मुछिएका थिए । उनी पनि दोस्रो संविधान सभा निर्वाचनमा विजयी भएका थिए ।
ललितपुरका जितजङ्ग बस्नेतले पनि तरुण दलको नेतृत्वको जिम्मेवारी पुरा गरी सकका छन् । नेपाल विद्यार्थी सङ्घका पूर्व महामन्त्री बस्नेत केन्द्रीय राजनीतिमा सफलता पाए पछि मात्र ललितपुरको स्थानीय राजनीतिमा सक्रियता देखाउन थालेका हुन् ।
नैनसिंह महर नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष हुन् । कुन्दन राज काफ्ले विद्यार्थी राजनीतिका उत्पादन हुन् । नेपाल विद्यार्थी संघ पूर्व महामन्त्री उनी जन आन्दोलनको समयमा चर्चामा थिए ।
नेपाल विद्यार्थी संघ पूर्व उपाध्यक्ष गुरु बराल पनि पहिलो पटक केन्द्रीय समितिमा प्रवेश गरेका हुन् । उनी गत निर्वाचनमा प्रदेश सभा सदस्यमा उम्मेदवार थिए ।
पहिलो पटक केन्द्रीय समितिमा निर्वाचित सञ्जय गौतम गत प्रतिनिधि सभा निर्वाचनमा बामदेव गौतमलाई पराजित गर्दे चर्चामा आएका थिए । योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्द राज पोखरेल पनि पहिलो पटक कांग्रेस केन्द्रीय समितिमा निर्वाचित भएका छन् ।
नेपाल विद्यार्थी संघ पूर्व अध्यक्ष राजीव ढुङ्गाना र सञ्चारकर्मी अजय सिवाकोटी पनि कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
गत स्थानीय निर्वाचनमा भरतपुर महानगरपालिकामा मेयरको टिकट पाएका दिनेश कोइरालालाई पछि हटाउँदै कांग्रेसले माओवादी उम्मेदवार रेणु दाहाललाई समर्थन गरेको थियो । यस पटक तीनै कोइराला पहिलो पटक कांग्रेस केन्द्रीय समितिमा अटाएका छन् ।
मदन बहादुर अमात्य ललितपुर कांग्रेसका पूर्व सभापति हुन् । तल्लो तह देखि नै राजनीति गरेका अमात्य पनि दोस्रो संविधान सभाका सदस्य थिए । नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष र महामन्त्री उमेश जङ्ग रायमाझी पनि पहिलो पटक पार्टीको केन्द्रीय समितिमा अटाएका छन् ।
उनी तीन दशक अगाडी नै बुटवलमा भएको नेपाल विद्यार्थी संघको अधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएका थिए ।
विद्यार्थी संघमा सोही अधिवेशनले अध्यक्षमा निर्वाचित गरेको नारायण प्रकाश साउद अहिले केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । नेविसंघको बुटवल अधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएका धनराज गुरुङ अहिले पार्टी उप सभापति निर्वाचित भए । भने सो समयका नेवी सङ्घ सदस्य विश्व प्रकाश शर्मा पार्टी महामन्त्री भएका छन् । उमेश जङ्गले नेबी सङ्घको महामन्त्रीको जिम्मेवारी पनि सम्हाली सकेका छन् ।
दाङका पूर्व सांसद कृष्ण किशोर घिमिरे पहिलो पटक केन्द्रीय सदस्य निर्वाचित भएका छन् । लोकतान्त्रिक फोरमबाट विजय गच्छादारसंगै काँग्रेस प्रवेश गरेका काभ्रेका गणेश लामा पनि केन्द्रीय सदस्य निर्वाचित भए । रसुवाबाट प्रतिनिधि सभामा निर्वाचित इन्जिनियर तथा निर्माण व्यवसायी मोहन आचार्य पनि पहिलो पटक केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
ललितपुरबाट भने काँग्रेस केन्द्रीय समितिमा तीन जनाको उपस्थिति रहेको छ । य तीनै शेर बहादुर देउवा समूहका हुन् । संयोगवश ललितपुरको जिल्ला सभापतिमा भने प्रकाश मान सिंह निकट जितेन्द्र श्रेष्ठ निर्वाचित रहेका थिए ।





