उपत्यकाको पकडको आधारमा सिंहको दाबी
केन्द्रीय जोड घटाउका लागि उपत्यकामा लचिलो

काठमाडौँ /नेपाली काँग्रेसको आसन्न महाधिवेशनका लागि सभापतिका साझा उम्मेदवार छान्न जारी बैठकमा मङ्गलवार सहमति नजुट्ने सम्भावना बलियो बन्दै गएको छ । चार घण्टा भन्दा बढी समय जारी बैठकमा शेखर कोइराला र रामचन्द्र पौडेल लचिलो भए पनि प्रकाश मान सिंह लचिलो हुन सकेनन् ।
सभापतिका आकाङ्क्षी प्रकाश मान सिंहले उपत्यकामा पकड राख्ने क्रममा तल्लो तह देखि नै आफूलाई लचिलो बनाएका थिए । काठमाडौँमा आफ्नो पक्षका उम्मेदवारलाई बलियो बनाउने तथा महाधिवेशनका बलियो पकड राख्नका लागि गगन थापासँग लामो समय देखि रहेको तुषको अन्त्य गर्दै तल्लो तह देखि नै सहमति कायम गरेका थिए । सिंह र थापाको संयुक्त प्यानलबाट कृष्ण बाँनीया काठमाडौँ जिल्लाका सभापति भएका हुन् ।
यसै गरी, ललितपुर जिल्ला अध्यक्षमा आफ्नो पक्षका उम्मेदवार जितेन्द्र श्रेष्ठलाई जिताउन प्रकाशमान सिंहले उदय समसेर राणासँग समेत सहकार्य गरेका थिए । लामो समय देखि शेर बहादुर देउवा क्याम्पका प्रभावशाली नेता नेपाल तरुण दलका पूर्व अध्यक्ष राणा पनि ललितपुर मा जितेन्द्र श्रेष्ठलाई अध्यक्ष बनाउन साथ दिएका थिए ।
राणा र सिंहको साझा उम्मेदवारको रूपमा श्रेष्ठले जित हात पारेका थिए । सिंह नै केन्द्रीय अध्यक्ष मा उम्मेदवार भए राणा सो प्यानलमा रहन सक्ने सम्भावना पनि रहेको राणा र श्रेष्ठ निकट रहेका ललितपुरका काँग्रेस कार्यकर्ता बताउँछन् ।
काठमाडौँ उपत्यकाको सफलताको आधारमा नै सिंहले आफ्नो दाबीलाई यथावत् राखेका हुन् ।