योगी पुरूषको संगत !
बिच्चिएका चिनियाँले भने, ‘तँ ढोङ्गी रैछस्, अविवाहित बस्ने भनेर ढाँटिस्।’

लक्ष्मी लम्साल, बेइजिङ
‘धन्न तिमीले अत्यायौ र छुट्कारा पाइयो,’ एउटा गगनचुम्बी भवनबाट भुइँमा उत्रिएर गाडीतर्फ लम्किँदै गर्दा चिनियाँ आमाले यसो भनिन्। सन् २०१२ मा बेइजिङ उत्रिएपछि म योगध्यान गर्ने केन्द्रको खोजीमा भौतारिइरहेको थिएँ। संयोगवश एकजना आध्यात्मिक महिला जस्ले मलाई छोरा भन्ने गर्थिन्,को सम्पर्कमा आएपछि मेरो योग ध्यानको तिर्खा मेटाउन अध्यात्म केन्द्रहरूको खोजीमा डुलाइरहेकी थिइन्।
नेपालमा छँदा अनामनगरस्थित योग केन्द्रमा निरन्तर योग गर्न थालेपछि मेरो जीवनको बाटो नै योगध्यानतर्फ मोडिँदै गएको थियो। जीवनको उर्वर जवानीमा योगध्यानपट्टि लाग्न खोज्दा परिवारबाट दवाब आउन थालिसकेको थियो, ‘बिहे कहिले गर्ने?’ मेरो मन भने योगध्यान तपस्या गर्ने, यो जीवनलाई कुनै ज्ञानगुनको खोजीमा होमिदिने ध्येयले ओतप्रोत हुन थालिसकेको थियो। म वैवाहिक जीवन र भौतिकतावादको विरुद्धमा निकै तर्कवितर्क गर्न थालिसकेको थिएँ। करीब २९ वर्षको उमेरमा म एक्लै बेइजिङस्थित चिनियाँ अन्तर्राष्ट्रिय रेडियो सीआरआई नेपाली सेवामा काम गर्नका लागि उत्रिएँ। त्यतिखेरको मेरो सपना भनेको कमाएको पैसाले एउटा राम्रो कुटी बनाउनु, बचेको पैसाले कुटी चलाउन पुग्ने कुनै साधनश्रोतको खोजी गर्नु अनि बुढा बाको गाउँले किसानी जीवनलाई केही हलुका बनाउनुमा केन्द्रित हुन थाल्यो। त्यस्तै आध्यात्मिक सोचेर नै होला चिनियाँ आमा जम्काभेट भइन्। उनी भन्ने गर्थिन्, ‘मान्छे आफू जस्तो छ, उस्तै मान्छेसँग ठोक्किन पुग्छ।’
आमा स्वर्गारोहण भएको वार्षिकी पनि नबित्दै म टुहुरो बेइजिङजस्तो घना, बिरानो सहरमा आइपुगेको थिएँ। चिनियाँ भाषा बोल्न जानेको थिइँन, नेपालीहरूको संख्या कम थियो, भएकाहरू पनि आफू बसेको क्षेत्रभन्दा टाढा टाढा। ती आमा ‘क्यू क्यू’ नामक सामाजिक सञ्जालमा भेटिएकी। ‘छोरा’ भनेर बोलाइदिएपछि त्यतिबेला एउटा टुहुराका लागि अरू मीठो शब्द के नै हुनसक्थ्यो र? म विदाका दिनहरूमा उनका पछि पछि लागेर कहिले कता कहिले कता भौतारिइरहन्थें।
काठमाडौंमा छँदादेखि नै योग ध्यान गर्दै आएको तर बेइजिङमा आएपछि कुनै योग समाजको सम्पर्कमा पुग्न नसकेको भनेर कर् कर् गरिरहेपछि तिनै आमाले एकजना गुरुकोमा लगिन्। सायद उनले पनि सामाजिक सञ्जालबाटै भेटेकी थिइन् वा घनिष्ठ चिनजान थिएन। युआन नाम गरेका ती गुरुले आफ्नो अफिसको टेबुल अगाडि दुईटा कुर्सीमा राखेर एकोहोरो प्रवचन दिइरहे। भाषा नबुझ्ने भएकाले मलाई चार पाँच मिनेटमै झ्याउ लाग्न थालिसकेको थियो। के के उदाहरण दिँदै एकोहोरो बोलिरहेको आधा घण्टा हुन लागिसक्यो, वाणी टुंगिने त छाँटकाँट देखिँदैन। आमा पनि टुलुटुलु हेरिरहेकी छिन्। तब मैले बीचैमा बोलें, ‘आमा ढिलो हुन लागिसक्यो, फर्किने होइन?’
उनलाई पनि के निहुँ पाउँ जस्तो भइरहेको रहेछ। प्वाक्क बोलिहालिन्, ‘ल ल अब निस्किने, पाँचै मिनेट, गुरुको कुरा सक्किन देउ।’
अन्ततः पाँच मिनेटमै उनले भनाइ सक्नुपर्यो सायद। हामी दायाँबायाँ नगरीकन आर्लिएपछि आमाले हाँस्दै भनिन्, ‘हत्तेरिका कस्ता हावालाई गुरु ठानेर आइपुगिएछ, दिमाग भुटेर बर्बाद पारिदियो।’ त्यो मानिस गफाडी पाराको कुनै गुरु नै होला भन्ने म सोच्छु। आमाले उस्का बारेमा अरु अरु पनि के के भन्दै थिइन् तर भाषिक कठिनाइँका कारण म त्यसै अँ अँ मात्रै भनिरहेको थिएँ।
मेरो योग ध्यानको इच्छा पूरा गर्नका लागि आमाले अर्को दिन कुनै ठाउँमा लगिन्। चकटीमा पलेटी मारेर बस्न मिल्ने एउटा कोठाको वरिपरि मानिसहरू बसिरहेका थिए। अगाडि ग्रीन टीको भाँडो र गिलासहरू थिए। बेला बेलामा उनीहरू आँखा चिम्म गर्थे अनि ध्यानमग्न हुन्थे। फेरि ब्युँझिन्थे र चिया पिउँथे। यो क्रम केहीबेर चल्यो। हामी पनि सामेल भयौं। एउटा गज्जबको ठाउँ भेटेको जस्तो लाग्यो मलाई। तथापि योगाभ्यास नभएर ध्यानाभ्यास मात्रै रहेछ। कम्तीमा पनि एउटा गन्तव्यमा पुगें भन्ने सोचेर दंग परें। फर्किने बेलामा बाटो एउटै पर्ने भएकाले दुई जनालाई पनि साथमा लिएर आमाले गाडी हुइँक्याइन्। बाटोमा कुराकानी गर्दागर्दै एकजना महिला सीसीटिभीकी प्रस्तोता रहिछन्, जो अंग्रेजी बोल्न सक्ने भएकाले बाटोभरि मसँग गफिइन्। ती अहिले पनि मेरी साथी नै हुन् जो पुरातात्विक स्थलहरू र संग्रहालयहरूको भ्रमण गर्दै अध्ययन गर्न रुचि राख्दछिन्। अर्को एकजना पुरुष भने वीच्याट नामक संजालमा मित्र त छन् तर उति घनिष्ठ कुराकानी हुँदैन। उनी बारम्बार एउटै कुरा सोधिरहन्थे, ‘तिमीलाई केटा मान्छे मन पर्छ? के तिमी मलाई मन पराउँछौ?’
उनका यस्तै झिँजोलाग्दा प्रश्नले गर्दा म टाढिँदै गएँ। शायद उनी योगध्यान भन्दा पनि यस्तै कुरामा चाख मान्थे। हामी बसेको ठाउँबाट निकै टाढा भएकाले ध्यानकेन्द्रमा दोश्रो पटक जान सकिएन। आमा म बसेको ठाउँदेखि त्यस्तै आधा घण्टा पर बस्थिन्। उनको पनि आफ्नै काम हुन्थ्यो। म रेडियोकर्मी भएकाले कहिलेकाहीं शनिबार, आइतबारको विदामा पनि काम गर्नुपर्ने हुन्थ्यो। भनेजस्तो समय मिलाउन गाह्रो भएपछि त्यो सिलसिला पनि टुट्यो।
वार्षिक विदाका बेलामा नेपाल फर्किएको थिएँ, चन्द्रमणि गुरुसँग भेटें। उनले चीनमा योग कक्षा चलाउन सकिन्छ कि भनेर सोधे। मलाई झन् चिनियाँ भूमिमा नेपालको योग फैलाउन सकियो भने त देशको नाम पनि रहन्छ, आफ्नो योगी बन्ने अभिलाषा पनि निरन्तर हुन्छ भन्ने प्रलोभन चढ्दै गयो। म कोही योग सम्बन्धी कुरा गर्ने चिनियाँ भेट्यो कि लहसिन थालें। चिनियाँ भाषा सिक्नका लागि पनि प्रयास गर्न थालें।
संयोगवश एकजना मेरै उमेरकी चिनियाँ महिलासँग सम्पर्क भयो। प्रारम्भमा मैले उनका घरमा आएका पाहुनालाई समेत योग गराइदिएँ। बिहान ५ बजे नै म उनको घरमा पुग्थें, योगकक्षा चलाउँथे। भाषा पर्याप्त नभएपनि शारीरिक हाउभाउले नै काम चलाउँथे। केही दिनमा घरमा आएका ती पाहुना फर्किए। उनी एक्लै बस्दिरहिछन्। योगका लागि म अनुशासित थिएँ। छुट्टै गुरु शैलीको पोशाक पहिरिएर जान्थें। उनलाई योग सिकाउन थालेको पनि केही दिन भइसकेको थियो। त्यत्तिकै आउँदिन भन्न पनि सकिरहेको थिइँन। योगले आफूलाई पनि फाइदा नै हुने भएकाले म टुटाउन चाहन्नथें तर पछि पछि ती महिला योगप्रति खासै रुचि दिन छाडिन्। मेरी आध्यात्मिक आमाका बारेमा कुरा गर्दा पनि उनकोमा नजान भन्न थालिन्। फूर्सत पायो कि मेरोमा आउने, आफ्नोमा बोलाउने, बजार घर डुलाउन लैजाने गर्न थालिन्। मलाई पनि भाषा सिक्नु थियो, चिनियाँ समाज बुझ्नु थियो। अन्ततः उनी योगकक्षामा मन लगाउन छाडिन्। अन्ततः उल्टै मलाई योग सिकाउन खोज्थिन् तर अर्कै प्रकारको।
योगप्रतिको मेरो सम्मोहन टुटिसकेको थिएन। पत्ता लगाएँ कि बेइजिङमा नजीकै एउटा योग केन्द्र संचालनमा छ। पैसा तिरेर एक घण्टा, सातामा एक दिन। एक्लै एकाग्रता नहुन थालेपछि मैले सातामा एक दिन भएपनि योगमा ध्यान दिन थालें। तर चिनियाँ योगमा विशेषतः शारीरिक व्यायाम मात्रै हुने। प्राणायाम, प्रवचन नहुने, मात्रै शारीरिक व्यायाम। त्यही कक्षामा भेटिएकी एकजना श्रीलंकाली युवती पनि भारतीय योगकी पारखी थिइन्। हिन्दू भूमिमा हामीले गर्नेजस्तो पूर्ण पूर्वीय दर्शनको योग नभएकोमा हाम्रो मतैक्यता भयो। सल्लाह भएपछि हामी एकअर्काका कोठामा गएर नियमित योग गर्न थाल्यौं। उनी अंग्रेजी र चिनियाँ भाषामा निपुण थिइन्। उनीसँगको संगतबाट म योगमा पुनः पूर्ववत् लीन हुन थालें। केही समय निरन्तर योगाभ्यासी भइयो। पछि त उनी अर्को कुनै अनलाइनमा जागिर पाएर सोही क्षेत्रमा डेरा सरिन्, योगको सिलसिला टुट्यो।
आक्कलझुक्कल केही योगाभ्यासीको संसर्गमा पुगे पनि मेरो योगको एकाग्रता भने भड्किन थालिसकेको थियो। कसै कसैले स्वस्थ जीवनको रहस्य के हो भनेर सोध्दा म निर्धक्क भन्थें, ‘योग र शाकाहारी जीवन।’ उस्तै शाकाहारी भएकाले आमासँगको सान्निध्यता पनि रमाइलो थियो। आमा विभिन्न धार्मिक गुरुसँग भेटघाट र समाजसेवा भन्दै कहिले कता, कहिले कता जान्थिन्। बेइजिङबाहिर गएको बेला त कहिलेकाहीं महिनौसम्म उतै हुन्थिन्। त्यसमाथि बेइजिङमै हुँदा पनि हप्ता/पन्ध्र दिनमा पनि कहिलेकसो भेट्ने फूर्सत मिल्थ्यो। ‘आमा व्यस्त छिन् बाबु’ भनेर मेरा लागि समय कम गर्न थालिन्।
कैयन् वर्षसम्म म कहिले एक्लै त कहिले साथी भेटेर योग गर्दै आइरहेको थिएँ। एक्लै हुँदा पनि बेला बेलामा गर्थें। सँगै बस्ने साथीले ‘मर्निङ वाक’मा लगेर बीचबीचमा योगको सिलसिला टुटाइदिन्थे। तथापि यहाँसम्म आइपुग्दा केही हदसम्म योगको अस्तित्व दौडिरहेको थियो मभित्र।
कामको सिलसिलामा विदेश रहँदै गर्दा उमेर पनि चढ्दै गयो। विवाहका लागि पारिवारिक र साथीभाइले समेत चर्को दवाब दिन थाले। कतिपयले सुझाए, ‘विवाह गरेपनि ब्रम्हचारी हुन सकिन्छ। योग, ध्यान, अध्यात्मलाई निरन्तरता दिन सकिन्छ। घर गृहस्थी हुँदैमा मानिस अध्यात्मबाट भाँडिने होइन। किन यस्तो मूर्ख निर्णय गर्न लागेको?’
निकै लामो सोचें मैले। कैयन् महिनासम्म सोचमा डुबिसकेपछि हठात् म विवाह गर्ने निचोडमा पुगें। बेइजिङमा हुँदा योगको प्यास मेटाउने क्रममा जो जससँग भेटेको थिएँ, उनीहरूसँग प्रायः एउटै कुरा हुन्थ्यो। ‘अध्यात्मचर्यामा रहेको पुरुषले विवाह गर्नुहुँदैन। ब्रम्हचारी हुने लाइनमा छु म।’
तिनताक मेरो लामो कपाल, मिलेको जिउडालले धेरै युवतीहरू भुतुक्क हुन्थे। आमा बाहेक धेरैले मेरो यस्तो कठोर निर्णय लिनुलाई मुर्ख्याइँ करार गरिरहेका थिए। र, पनि आध्यात्मिक मानिसहरू सत्यवादी हुन्छन् भन्ने सोचेर मेरो निर्दोषितालाई उनीहरू प्रेम गर्थे। मैले विवाह गरेपछि मेरा पूर्ववर्ती योगी मित्रहरू सबै बिच्किए। ‘तँ ढोङ्गी रैछस्, खूबै अविवाहित बस्ने भनेर ढाँटिस्।’ ममाथि अनेक खालका लाञ्छना लगाए। कोही टाढिए, कोही यसै पनि ब्रम्हचर्या भंग भएपछि झन् राम्रो भन्दै नजिकिन खोजे। यो लामो उतारचढावका बीच आमा पनि बेइजिङको घर भाडामा लगाएर अर्कै प्रान्तमा बहिनी ज्वाइँकोमा बस्न थालिछन्। त्यसमाथि उनी घुमन्ते हुन्, कहिले कता, कहिले कता गइरहने। वर्षौंदेखि भेट हुन छाडिसक्यो। मेरो श्रीमतीले बेइजिङ आएको बेला भनिन्, ‘ती तपाइँकी कस्ती चाइनिज आमा हुन्, बुहारी आएकी छ भन्दा पनि चासो नराख्ने?’ मैले आमाको निकटता गुमाउन पुगेको थिएँ। ‘निहाउ नमस्ते’ युट्युब च्यानलको लिंक पठाएँ। त्यो चीनमा भीपीएनविना खुल्दैन थियो। त्यही बहानामा कुरा गर्ने मेसो मिल्यो। ‘आमाले छोरा बिर्सिनुभयो’वीच्याटमा म्यासेज लेखें। आमाको उत्तर आयो, ‘छोरालाई बुहारी छँदैछ नि, आमा किन चाहियो? हा हा।’
उनले हाँसी हाँसी दिएको जवाफले मलाई बिझायो। परिस्थिति बदलिएपछि सबै कुरा बदलिँदा रहेछन्। योगले जोडिएका कैयन् मित्रहरू टाढिए। तर हरेक मानिसको अन्तस्करणमा अंकुराएको इच्छा हत्तपत्त निकाल्न सकिँदैन। योग मेरो अन्तर्मनमा वर्षौंदेखि विराजमान छ। म मेरो मनलाई पुनः जगाउँछु र योग ध्यानमा फेरि फर्किन्छु। जीवनसाथी र भावी पुस्तालाई पनि साथमा लिएर गृहस्थ ब्रम्हचर्यको बाटो अपनाउँछु। मबाट टाढिएकाहरूसँग योगध्यानकै बाटोमा फर्काएर पुरानो वचनलाई साकार तुल्याउँछु। दृढ अठोट मनमा लिएर म भौतिकतावादबाट अध्यात्मको बाटोमा पुनः फर्किनेछु। जय योग।