न्यायका लागि नेपाली चेली पनि न्यूयोर्कका सडकमा
न्यूयोर्क। न्यूयोर्क राज्यका नेल सलुन व्यवसायका कामदार र रोजगारदाताहरुले बिहिवार म्यानह्याटनमा सामुहिक प्रदर्शन गरेका छन्।
‘सबै हात, एक साथ’ भन्ने नाराका साथ उनीहरु म्यानह्याटनको जुकोट्टी पार्कमा भएको प्रदर्शनमा सहभागि भएका हुन्।
न्यूयोर्क राज्य संसदमा अहिले नेल सलुन मिनिमम स्टेन्डर्ड्स काउन्सिल एक्ट प्रस्तुत भएको छ। जसको नेतृत्व राज्य सिनेटर जेसिका रामोस र विधानसभा सदस्य ह्यारी ब्रोनसनले गरेका छन्।
सोही एक्टको पक्षमा माहोल बनाउन न्यूयोर्क स्वस्थ नेल सलून गठबन्धनको अगुवाईमा प्रदर्शन भएको हो। जुन प्रदर्शनमा नेपाली चेलीहरुको पनि बाक्लो उपस्थिति रहेको थियो।
गठबन्धनमा अधिकार, नाइकस, वर्कर युनाइटेड लगायतका संघ सस्थाहरु सहभागि छन्। अधिकार नेपालीहरुले संचालन गर्दै आएको संस्था हो ।
प्रदर्शनमा सहभागिहरुले नेल सलुन व्यावसायमा रहेका समस्याहरुका बारेमा चर्चा गरेका थिए। एक्टले नेल सलुन व्यावसायमा लागेका कामदार र रोजगारदाताहरुका गुनासा सुन्ने र कार्यन्वयन गर्ने निकायको परिकल्पना गरेको छ ।
अधिकार संस्थाकी कार्यक्रम निर्देशक प्रार्थना गुरुङका अनुसार एक्टमा व्यवसायी,कामदार र सरकारको प्रतिनिधि रहने काउन्सिलको व्यवस्था गर्न भनेको छ। “नेल सलुन व्यवसायमा रहेका समस्या पहिचान र समाधान यही क्षेत्रबाटै हुनु पर्छ भन्ने एक्टको अवधारणा हो जुन कुरा हामीहरुले उठाउदै आएका थियौं।” समाज टाइम्स सँगको कुराकानीमा प्रार्थनाले भनिन् ।
“कोभिड महामारीले यो व्यवसाय निकै प्रभावित भएको छ। रोजगारदाता र कामदार दुबैलाई घाटा भएको छ, समस्या धेरै छ, दुबै तर्फ । सुरक्षाका कुरा पनि छन्। तर सबैलाई सुन्ने ठाँउ छैन। त्यो चाहियो भन्ने माग हो।”
प्रार्थनाका अनुसार एक्टले ग्रहाक सेवा मूल्यमा पनि एकरुपता खोजेको छ। “आफुखुसी सर्भिस मूल्य राख्दा साना व्यावसायी र कामदार दुबैलाई मर्का छ। त्यो पनि एक्टले सम्बोधन गर्ने छ।”
सडक प्रदर्शनले आम मानिसमा नेल सलुन व्यवसाय क्षेत्रका समस्याका बारेमा चासो बढ्ने र यसले एक्ट पारित गर्नका लागि थप सहयोग गर्ने अपेक्षा सहित प्रदर्शन गरिएको हो ।
“झण्डै ६० जना नेपाली सहभागि प्रदर्शनीमा एक सय भन्दा बढी सहभागि थिए, स्थानीय मिडियाले उच्च प्राथमिकताका साथ कभरेज दिएका छन्, मान्छेमा चासो बढेको छ ।” प्रार्थनाले भनिन् ।
प्रार्थनाका अनुसार अर्को चरणको प्रदर्शन अव राजधानी अल्वानीमा पनि हुने छ।
यस अगाडि अधिकार लगायत संस्थाले नेल सलुनमा न्युनतम ज्यालाको पक्षमा पनि अभियान चलाएका थिए । विभिन्न संघ संस्थाको दवावकै कारण सन् २०१९ देखि नेल सलुनमा प्रतिघण्टा न्युनतम १५ डलर तलव कायम भएको छ ।
न्युयोर्क राज्यको नेल सलुनमा व्यवसायमा नेपाली कामदारहरुको उल्लेख्य सहभागिता छ । केही संख्यामा नेपाली व्यवसायी पनि यस क्षेत्रमा छन् ।
तस्वीर सौजन्य: क्लार्क जोन्स